कपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले कुनै गुण्डा दल नभएको बताएका छन् । आइतबार अखिल नेपाल महिला संघको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै एमाले परिपक्व राजनीतिक दल भएको बताउँदै कुनै गुण्डा दल नभएको उनले बताए ।
उनले भने, ‘नेकपा एमाले कुनै गुण्डा दल होइन। एउटा परिपक्व राजनीतिक पार्टी हो ।’ देशको धेरै जनसंख्या एमालेको पक्षमा रहेको पनि उनले बताएका छन्।
उनले भने, ‘केपी ओलीको साथमा रहेको कुनै दुईचार जनाको झुन्ड होइन। देशको सबैभन्दा बढी जनसंख्या नेकपा एमालेको साथमा छ,’ उनले भने, ‘देशको सबैभन्दा बढी जनसंख्या केपी ओलीको साथमा छ। अनि एउटा दुईटा कसले कविता न सविताका कविता भनेर लेख्छ, त्यसका पछाडि नेकपा एमाले कुद्छ ?’
आफूविरूद्ध मुख छाडेर कसैले जीविका चलाउछ भने उनी आफैँ खुसी हुने उनले बताए । उनले भन, ‘केपी ओलीलाई मुख छाडेर कसैले जीविका चलाउँछ भने म खुसी नै हुन्छु। त्यस्ता केही दर्जन मानिस छन्, तीन करोड नेपालीमा। भ्यागुताले इनारको प्वालबाट देखे जति धर्ती र आकास ठानेजस्तै !’
पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई क्षमा गरेको भन्दै पार्टीमा फर्किन पनि आग्रह गरेका छन् । प्रतिक्रियावादीसँग साँठगाँठ गरेर आफ्नै सरकार ढाल्ने नेपाललाई ओलीले फर्किन आग्रह गरे ।
उनले भने, ‘केही व्यक्तिहरु आफ्ना स्वार्थका कारणले प्रतिक्रियावादीहरुको जालझेलको अंग बनेर, प्रतिक्रियावादीहरुसँग भित्री साँठगाँठ गरेर पार्टी ढाल्ने, सरकार ढाल्ने खेलमा सामेल भइरहेको हामी देखिरहेका छौं। प्रतिक्रियावादीहरुसँग मिलेर आफ्नो सरकार ढालेको हामी देखिरहेका छौं। आफ्नो पार्टी फुटाएर सजिलो बनाइदिएको देखिरहेका छौं। आफ्ना सांसद्हरुलाई झुक्याएर वा प्रलोभनमा पारेर मतदानबाट बाहिर लगेको हामी देखिरहेका छौं। हामी देखिरहेका छौं, कसरी उनीहरु राष्ट्रपतिकहाँ विरोधीका पछिपछि लागेर एमालेको सरकार ढाल्न विरोधीलाई बनाउन गइरहेका छन्, हामी देखिरहेका छौं। फेरि त्यस्ता तत्वहरुको पछि लागेर आन्दोलनको भविष्य कमजोर पार्ने र आफ्नो भविष्य ध्वस्त पार्ने काम किन गर्नेरु त्यसकारण म अहिले पनि भन्न चाहन्छु, पार्टीले क्षमा गर्छ, साथीहरु गल्ती नगर्नुस्। पार्टीमा फर्किनुस् ।’




