देशलाई अतिरिक्त आर्थिक भार बढ्ने गरी सरकारले नेपाल प्रहरीमा ७ वटा दर्जागत तह थप्न प्रक्रिया अघि बढाएको छ । प्रहरी नियमावली २०७१ संशोधन गरी हाल कायम प्रहरी महानिरीक्षकसहित ११ वटा तहलाई बढाएर १९ वटा पुर्याउन प्रस्ताव गरिएको हो ।
प्रहरीमा कार्यालय सहयोगीदेखि नायब निरीक्षकसम्म ५ वटा दर्जा रहेकामा त्यसलाई बढाएर १२ पुर्याउन लागिएको हो । पहिलो पटक कार्यालय सहयोगीको पनि निजामतीकै सरह श्रेणी वर्गीकरण गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालयले कनिष्ठ कर्मचारीको वृत्तिविकासका लागि भन्दै दर्जा थप्ने प्रस्तावको मस्यौदा बनाएर गृह मन्त्रालयमा पेस गरेको थियो । दर्जा थप्नेसम्बन्धी नियमावली संशोधन मन्त्रिपरिषद्बाट पारित भएमा प्रहरीमा आईजीपीदेखि कार्यालय सहयोगीसम्म १९ वटा तह हुनेछन् । अहिले यो तह ११ वटा मात्रै छ ।
प्रहरीको प्रस्तावबमोजिम गृहले कानुन मन्त्रालयबाट सहमति लिएर अन्तिम स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ । अर्थले गृहको प्रस्तावमा सहमति दिए मन्त्रिपरिषद्बाट प्रहरी नियमावली संशोधन गरी थपिएका दर्जाअनुसार बढुवा तथा वृत्तिविकाससम्बन्धी निर्णय लिनुपर्ने हुन्छ । गृह मन्त्रालयका अनुसार प्रहरीमा वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), वरिष्ठ हबलदार र सहायक हबलदार गरी तीनवटा दर्जा थप्ने प्रस्ताव छ । त्यस्तै प्रहरी कार्यालय सहयोगीलाई पनि आन्तरिक बढुवाबाट पाँचौं तहसम्म पुग्ने गरी दर्जा थप्न प्रस्ताव गरिएको छ । यो दर्जागत तह सशस्त्र प्रहरीमा छ ।
कार्यालय सहयोगीको दर्जा अब सेवा अवधि र कार्यसम्पादनका आधारमा कार्यालय सहयोगी प्रथम, द्वितीय, तृतीय, चतुर्थ र पञ्चमसम्म पुग्ने बाटो खुलाएर मस्यौदा बनाइएको छ । कार्यालय सहयोगीको दर्ज्यानी चिह्न हुने छैन तर सेवा सुविधामा निजामतीसरह श्रेणी वर्गीकरणको प्रस्ताव छ । प्रस्ताव कार्यान्वयनमा आए अब सिपाहीबाट हबलदारमा बढुवा हुने व्यवस्था हट्नेछ । सहायक हबलदारपछि मात्रै हबलदार बढुवाका लागि योग्य मानिनेछ । त्यस्तै हबलदारबाट वरिष्ठ हबलदार नभई सहायक निरीक्षक हुन पाइने छैन । अहिले सिपाहीबाट सेवा प्रवेश गरेको प्रहरी नियमित प्रक्रियाबाट बढुवा हुँदै गएमा अनिवार्य अवकाशमा जानुअघि निरीक्षकसम्म बढुवा हुन सक्छ तर दर्जा थप्ने प्रस्ताव लागू भए सिपाहीबाट भर्ना भएको प्रहरी वरिष्ठ सईसम्म मात्रै पुग्न सक्छ ।




