नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ/नगर वडा अधिवेशन शुरु हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा अधिवेशन हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
आजबाट शुरु नेपाली कांग्रेस जिल्ला समिति भक्तपुरको १४औँ अधिवेशनअन्तर्गत वडा अधिवेशन शुरु भएको छ । आज बिहानैदेखि पार्टीको निर्धारित कार्यतालिकाअनुसार जिल्लाका चार नगरपालिकाका ३८ वडामा आज अधिवेशन शुरु भएको कांग्रेस भक्तपुरले जनाएको छ ।
जिल्ला सभापति दुर्लभ थापाले भने, ‘आजबाट कांग्रेसको महाधिवेशनको चरण शुरु भएको छ, त्यसअन्तर्गत आज भक्तपुरका चारवटै नगरपालिकाका ३८ वडामा अधिवेशन सम्पन्न हुँदैछ, मैले सूर्यविनायक नगरपालिका–५ र मध्यपुरथिमि नगरपालिका–४ को वडा अधिवेशनको अवलोकन गर्दै वडा अधिवेशन शुरु हुनेछ, सबै वडामा सर्वसहमतिको नेतृत्व चयनको प्रयास जारी छ ।’
जिल्लाका करिब ५० प्रतिशत वडामा नेतृत्व चयनमा सर्वसम्मत गरिसकेको बताउँदै उहाँले बाँकीमा पनि नेतृत्व चयनमा सर्वसम्मतको प्रयास जारी रहेको जानकारी दिनुभयो । कांग्रेसले जिल्ला अधिवेशनका लागि केन्द्रीय प्रतिनिधि एवं निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता मुकुन्द शर्मा पौडेललाई चयन गरेर अधिवेशन शुरु गरेको छ ।




