कांग्रेसको नेतृत्वमा प्रधानमन्त्री शेरबहादुर देउवा आफैं अघि बढेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई एक जनामात्र उम्मदेवार अघि सार्न दबाब परेको छ । पार्टी र सत्ताको केन्द्रमा रहेका देउवालाई विभाजित भएर हराउन नसकिने निष्कर्षका साथ बुधबार बसेको पौडेल पक्षको बैठकमा सभापतिका लागि एकमात्रै उम्मेदवार बनाउन दबाब परेको हो ।
यो समूहमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला मुख्य आकांक्षी छन् । उनीहरूमध्ये एक जनालाई साझा उम्मेदवार बनाउन पौडेल पक्षको बैठक केही दिनदेखि निरन्तर बसेको थियो । महाधिवेशनमा कसलाई उम्मेदवार बनाउने भन्नेमा समझदारी नजुटे पनि बिहीबार सभापतिसहित सबै पदाधिकारीमा एकमात्रै टिम घोषणा गर्ने सार्वजनिक प्रतिबद्धता भने पौडेल पक्षले गर्ने भएको छ ।
महाधिवेशनको प्रक्रिया सुरु हुनु एक दिनअघि देशभरका कार्यकर्तालाई सकारात्मक सन्देश दिन पौडेल पक्षले सभापतिसहित पदाधिकारीमा एकमात्रै टिम घोषणा गर्ने प्रतिबद्धता सार्वजनिक गर्न लागेको हो । त्यसका लागि बिहीबार २ बजे पौडेल पक्षीय पदाधिकारी, पूर्वपदाधिकारीसहित सबै केन्द्रीय सदस्यलाई पार्टी कार्यालयमा बोलाइएको छ । नेता बलबहादुर केसीका अनुसार मुख्य चार आकांक्षीसहित टिमका सबै नेताहरूबीच सभापति र सम्पूर्ण पदाधिकारीमा एउटै टिम घोषणा गर्ने सैद्धान्तिक समझदारी जुटेको छ ।
‘सकभर व्यक्तिमै समझदारी जुटाएर घोषणा गर्न सकिन्छ कि भन्ने प्रयास थियो, त्यो ठाउँमा हामीहरू आइसकेका छैनौं,’ केसीले भने, ‘पार्टी र सत्ताको केन्द्रमा बसेका देउवालाई हराउन एक जनामात्रै उम्मेदवार बनाउनुपर्छ भन्नेमा सहमति भने बनेको छ ।’ उनले देशव्यापी सन्देश दिनका लागि पनि आफूहरूले एउटै टिम बनाउने सार्वजनिक प्रतिबद्धता गर्न लागेको बताए । शुक्रबारदेखि कांग्रेसको वडा तहको अधिवेशन सुरु हुँदै छ ।




