सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई सांकेतिक रुपमा गाडीको साँचो बुझाए ।महासंघको अगुवाइमा नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज पनि आवद्ध थिए । यातायात व्यवसायी चाबी बुझाउन माइतीघरदेखि सवारीसाधनको र्यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार नै ज्ञापनपत्रसहित सरकारलाई साँचो बुझाइएको महासंघका अध्यक्ष डोलनाथ खनालले बताए । पहिलो चरणको चाबी बुझाउने कार्यक्रम सकिएको उनले जानकारी दिए । ‘भोलि हामी समीक्षा बैठक बस्छौं, सरकारको गाम्भीर्यता अध्ययन गर्छौं,’ उनले भने, ‘त्यसपछि थप चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्नेछौं ।’ महासंघले विभिन्न ७ बुँदे माग राख्दै असार २४ गतेदेखि आन्दोलन गर्दै आएको छ ।
साँचोसँगै बुझाइएको ज्ञापनपत्रमा यातायात व्यवसायी, मजदुर र कर्मचारीलाई खोपको व्यवस्था र सवारी दुर्घटना भएमा राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको व्यवस्था मिलाउनुपर्ने, वैज्ञानिक भाडा नीति २०६५ अनुसार भाडा समायोजन गर्नुपर्ने र पर्यटन यातायातको भाडा तोक्नुपर्ने, २० वर्ष पुराना गाडीलाई प्राविधिक जाँचको आधारमा थप १० वर्ष चलाउन दिनुपर्ने माग उल्लेख छ ।




