23 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

समाजवादी विचारक विपि कोइराला


  • मनोहर कार्की ( मानवशास्त्री तथा अधिवक्ता )

नेपालको राजनीतिका शिखर व्यक्तित्व विपि कोइरालाको आर्दश र मूल्यको राजनीति नेपालको राजनीतिक इतिहासमा चीरकाल पर्यन्त स्मरणीय रहने छन्, उहाँको वैचारिक मान्यता र उदार समाजवादी राजनीतिक विचारधाराका रुपमा । उहाँमा भएका निजत्वले राजनीतिक विचार र नेतृत्वका हिसावले समाजवादी तथा साहित्यिक व्यक्तित्वका रुपमा अराजकतावादी धारका अग्रज श्रष्टाका रुपमा नेपाली साहित्याकाशमा उच्चमुल्यांकन गरिन्छ । निकै हदसम्म उहाँका कालजयी सिर्जनाहरुमा सुम्निमा, तीनघुम्ती, मोदिआइन तथा हिटलर र यहुदी जस्ता औपन्यासिक कृृतिहरुले राजनीतिक वैचारिकताको आत्मबोध, यौन मनोविज्ञानको विश्लेषण तथा सामाजिक रुपान्तरण र मनो—सामाजिक सांस्कृतिक द्धन्द्वलाई बैचारिक धरातलमा सटिक प्रस्तुती गरेको पाइन्छ । तीनघुम्तीको मुख्य नारी पात्र इन्द्रमाया अनि सुम्निमाकी मुख्य नारी पात्र सुम्निामालाई केन्द्रमा राखेर यी कृति कालजयी बन्न सकेका छन् । जीवन र जगतका मूल्य र मान्यतालाई राजनीतिक विचार र साहित्यिक पक्षबाट उजागर गर्न सक्ने विलक्षणता विपि कोइरालामा उहाँका राजनीतिक विचार तथा सिद्धान्त र साहित्यिक सिर्जनामा वग्रेल्ती देखिन्छन् ।
तिनै महामानव विपि कोइरालाका जीवनका दुई नितान्त पृथक व्यक्तित्व मध्ये उहाँका राजनीतिक व्यक्तित्वका बारेमा अवको सन्दर्भमा केही परिचर्चा गर्नु सान्दर्भिक भएर यहाँ विवेचना गर्ने प्रयास गरिएको छ । विपि कोइरालालाई नेपाली राजनीतिमा अग्रज समाजवादी चिन्तक तथा पथपर्दशकका रुपमा आम नेपाली तथा राजनीतिकबृत्तमा लिइन्छ । वास्तविक रुपमा भन्ने हो भने विपि कोइराला विश्व समाजवादी आन्दोलनमा समेत अग्रणी व्यक्तित्व हुनुहुन्थ्यो । विश्वको राजनीतिक इतिहासमा दोस्रो विश्वयुद्ध पछिको चरम शितयुद्धको समयमा विश्व अनुदार कम्युनिष्ट खेमा र खरो पुँजिवादी खेमामा ध्रुविकरण भएको अवस्थामा यी दुबै परस्पर प्रतिस्पर्धी राजनीतिक र आर्थिक विचारधारा भन्दा नितान्त पृथक विचारधारा बोकेर उदाएको उदार समाजवादी चिन्तनको संस्थापन तथा विकासमा विश्वका अग्रज उदार समाजवादी विचारधाराको नेतृत्वकर्ता मध्ये विपि कोइराला पनि हुनुहुन्थ्यो । त्यसैले विचार र आस्थाको धरोहरका रुपमा विपि कोइरालालाई चिरकालसम्म लिइन्छ अनि उहाँको उच्च मूल्यांकन पनि भई आएकोछ ।
नेपालको राजनीतिक इतिहासका एक सर्वकालिक तथा उच्च राजनीतिक व्यक्तित्व विपि कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलन तथा यसको संस्थागत विकासमा पुर्याउनु भएको योगदान संधै चीरस्मरणीय रही रहनेछन् । नेपालमा समाजवादको उन्नयन तथा अभ्युत्थानमा विपि कोइरालाको नेतृत्वदायी भूमिका दक्षिण एशिया तथा सिंगो एशियाको समग्र समकालिक राजनीतिमा निकै महत्व राख्दछ साथै लोकतान्त्रिक समाजवादी चिन्तनधारालाई उजिल्याउने दिशामा मार्गदर्शक हुन सकेकोछ । जसले गर्दा उहाँलाई नेपाली काँग्रेसका अग्रणी नेता तथा जननायकको रुपमा मात्र स्थापित नगरी सममामयिक विश्व राजनीति र दक्षिण एशियाको अग्रज लोकतान्त्रिक समाजवादी नेता र कुशल चिन्तकका रुपमा उभ्यायो ।
विश्व राजनीतिक घटना तथा परिवेशमा तात्कालिक समयको राजनीतिक घटनाक्रमहरुको विश्लेषण गरिएको खण्डमा विश्व कम्युनिष्ट खेमा र पुंजिवादी खेमामा ध्रुविकरण भएको अवस्था थियो । तात्कालिक समयमा पुंजिवादी प्रजातान्त्रिक खेमाको नेतृत्व संयुक्त राज्य अमेरिकाले गरी आएको थियो भने साम्यवादी कम्युनिष्ट खेमाको नेतृत्व तात्कालिक साम्यवादी देश सोभियत संघले गरेको थियो । त्यस समयमा विश्व राजनीतिक परिवेश यस्तो चरम वैचारिक राजनीतिक ध्रुविकरणको अवस्थाबाट गुज्रिरहेको थियो कि कुनै पनि राष्ट्र–राज्यले आफ्नो राजनीतिक विचार, आर्थिक नीति तथा विकासका कार्यक्रम तथा सामरिक सुरक्षाका फरक फरक रणनीति र वैदेशिक नीतिका अलग अलग मान्यता बोकेका विश्वव्यापी दुई खेमाका सदश्यका रुपमा अस्तित्व रक्षा, सामरिक सुरक्षा तथा आर्थिक विकास र रुपान्तरणका यावत कार्यका लागि प्रयत्न गर्नु नितान्त स्वाभाविक र आवश्यक थियो ।
यस्तो विषम तथा अतिसंवेदनशील राजनीतिक कालखण्डबाट गुज्रिरहेको अवस्थामा विपि कोइरालाले माथिका प्रमुख राजनीतिक तथा वैचारिक गुट भन्दा विल्कुलै पृथक पहिचान, राजनीतिक आस्था र सिद्धान्तलाई आत्मसात् र अनुशरण गरेर चरम साम्यवादी कम्युनिष्ट वैचारिकधार र नितान्त खुल्ला पुंजिवादी धारभन्दा पृथक विचार अंगिकार गरी उदार समाजवादी विचारधाराका मौलिक मुल्य र मान्यतालाई मलजल तथा विकास गर्ने लोकतान्त्रिक समाजवादी विचारलाई अघि बढाउनु भयो । लोकतान्त्रिक समाजवादले निम्नतम तथा आधारभूत आवश्यकताबाट वंचित रहेका किसान तथा मजदुर वर्गको सामाजिक आर्थिक रुपान्तरणलाई पहिलो प्राथमिकता दिएर यस्ता वर्ग र पेशाका जनताको सर्वत्तोमुखी विकासलाई केन्द्रमा राखेर विकास र योजनालाई अघि बढाउने मान्यतालाई उजागर गर्ने दिशामा अघि बढ्ने प्रयासको थालनी गरियो । उदार समाजवादी नीति तथा त्यसै नीतिको जगमा उभिएको आर्थिक विकास र सामाजिक रुपान्तरणका कार्यक्रमलाई तात्कालिक विपि कोइरालाको जनमुखी सरकारले प्राथमिकताका साथ लागु गर्ने कार्यको थालनी पनि भएको हो । जननिर्वाचित विपि कोइरालाको छोटो समयको सरकारले उहाँकै समाजवादी चिन्तन र नीति अनुसारको राज्य व्यवस्था संचालनको कार्य तथा विकासका यावत क्रियाकलापलाई अघि बढाउन सकेको थियो । जनताविच विपि कोइरालाका आर्थिक विकासका नीतिगत कार्यक्रम तथा त्यसैको जगमा उठेको सामाजिक, सांस्कृतिक परिवर्तनका कार्यहरुले नेपालको विकासमा नयाँ विहानीको शुरुआत गर्न सकेको थियो । तर हठात् रुपमा विपि कोइरालाको लोकप्रिय तथा जनउत्तरदायी सरकार तात्कालिक राजा महेन्द्रको उच्च महत्वाकांक्षा तथा राजनीतिक शक्ति आर्जन र प्रत्यक्ष प्रयोग गर्ने मनसायले प्रेरित भई वि. सं. २०१७ साल पौष १ गतेको गैरप्रजातान्त्रिक कदमका कारण अवसान गरियो । जसको परिणाम स्वरुप दलविहिन चरित्रको निर्दलीय पंचायतको नाममा देश पुनः राजनीतिक स्वतन्त्रता सुन्य व्यवस्थातर्फ विमुख भयो । विपिको आदर्श र विचारधारालाई पंचायती व्यवस्थाको नाममा निश्तेच तथा तेजोवध गर्ने कार्यले करिव ३ दशकसम्म देशको विकास र स्वतन्त्र राजनीतिक चिन्तनधारालाई कुन्ठित गर्ने कार्य भयो । नेपाली कांग्रेसको नेत्त्वमा तथा जनआन्दोृलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको अगुवाईमा तात्कालिक संयुक्त वाममोर्चाको सहकार्यमा वि. सं २०४६ सालको ऐतिहासिक जनआन्दोलन पश्चातमात्र देशमा फेरि बहुदलीय व्यवस्थाको पुनस्र्थापना सफल भयो ।
लोकतान्त्रिक समाजवादले आफ्नो स्पष्ट वैचारिक आधार खडा गर्ने क्रममा धेरै कठिन आरोह अवरोहलाई पार गर्दै आएकोछ । लोकतान्त्रिक समाजवाद रुपी नदी प्रवाहमा शनैः शनैः काल्पनिक समाजवाद, वैज्ञानिक समाजवाद, फेवियन समाजवाद तथा विकसित आधुनिक समाजवाद जस्ता समाजवादी धारहरु मिसिएका छन् जसको धरातलमा यस विचारधाराको दार्शनिक आधार र स्वरुप निर्माण भएको छ । पाश्चात्य जगतका समकालिक चिन्तक सेन्ट साइमन, चाल्र्स फोरियर तथा बेलायती समाजवादी चिन्तक रोबर्ट ओवेनले सर्वहारा वर्गको उन्मुक्ती र उत्थानका लागि पुंजिपति वर्ग र श्रमिक वर्गका विचमा हितको संरक्षण हुनसक्ने वैचारिक आधार प्रस्तुत गरे । लोकतान्त्रिक समाजवादको सारभुत महत्वपुर्ण पक्ष वर्ग समन्वयको आधार यिनै समाजवादी चिन्तक तथा दार्शनिकहरुले तयार गरेका हुन् । वर्ग समन्वय तथा उदार आर्थिक विकासका आयामलाई महत्व दिएर लोकतान्त्रिक समाजवादले तेस्रो विश्वका अतिकम विकसित तथा विकासोन्मुख देशमा राजनीतिक व्यवस्थाको आधार र समग्र आर्थिक सामाजिक रुपान्तरणका लागि नविन विचारधाराका रुपमा काम गर्यो । गरिवी, अशिक्षा तथा विकासका समग्र क्रियाकलापबाट विमुख भएका लाखौं जनताका सामाजिक आर्थिक रुपान्तरणका दिशामा लोकतान्त्रिक समाजवादी विचार निकै हदसम्म सफल भएको आभाष पाउन सकिन्छ । यस दिशामा नेपालको समुल आर्थिक राजनीतिक इतिहासको विश्लेषण गरिएको खण्डमा उदार समाजवादी विचारका नीति तथा कार्यक्रमले नेपाली जनताको आर्थिक उत्थान, सामाजिक रुपान्तरण तथा विकासका लागि कुनै न कुनै रुपमा योगदान दिई आएकोछ , जसलाई कसैले पनि नजरअन्दाज गर्न सकिंदैन् ।
यसै सन्दर्भमा विश्वका लोकतान्त्रिक समाजवादी विचार र सिद्धान्त अंगिकार गर्ने विभिन्न मुलुकका राजनीतिक दल तथा संगठनहरुले सोसलिष्ट इन्टरनेशनलको स्थापना गरी उदार तथा लोकतान्त्रिक समाजवादी आदर्शका मुल्य र मान्यतालाई संस्थागत विकास गरी विश्वमा आमुल आर्थिक, सामाजिक तथा राजनीतिक परिवर्तनका मापनलाई अघि बढाउने प्रयासको थालनी गरियो । नेपाली कांग्रेस पार्टीले पनि यसको सक्रिय सदश्यका रुपमा सोसलिष्ट इन्टरनेशनलमा आफ्नो पहिचान र भूमिकालाई अघि बढाउँदै लग्यो । तात्कालिक समयमा विपि कोइरालाले नेपाली काँग्रेस पार्टीको सभापति तथा नेताका रुपमा यस अन्तर्राष्ट्रिय संगठनमा आफ्नो नेतृत्वदायी क्षमता र विशिष्ट कार्यशैलीको मौलिक पहिचान दिनसक्नु भएको थियो । विश्व व्यवस्थामा देखिएको चरम गुटवन्दी तथा अलग अलग राजनीतिक तथा वैचारिक प्रभावबाट बिल्कुलै पृथक तथा मौलिक पहिचान दिने उदार समाजवादी विचारको बोक्ने जनताहरुको आवाजलाई मुखरित गर्ने यस अन्तर्राष्ट्रिय मन्च सोसलिष्ट इन्टरनेशनलको संस्थागत विकासका लागि विपि कोइरालाको महत्वपुर्ण भूमिका रह्यो । त्यसैले नेपाली काँग्रेसले यस अन्तर्राष्ट्रिय संस्थामा आफ्नो सहभागिता र भूमिकालाई निरन्तरता दिंदै आएकोछ । तर मुलभूत कुरा लोकतान्त्रिक समाजवादी चिन्तनधारा र विचारलाई व्यवहारको कसीमा कत्तिको तिखार्न सकिएको छ अनि लोकतान्त्रिक समाजवादी सिद्धान्तको सान्दर्भिकतालाई आत्मसात् गर्ने दिशामा कत्ति कार्य भए यो कुराले अहम् महत्व राख्दछ ।
नेपालको राजनीतिक इतिहासमा लोकतान्त्रिक समाजवादी चिन्तनधाराको प्रणयताका रुपमा विपि कोइरालालाई लिन सकिन्छ । तात्कालिक विश्व राजनीतिको अत्यन्त चरम बैचारिक ध्रुविकरणको समयमा पनि दृढनिश्चयका साथ विपि कोइरालाले जसरी बेग्लै र मौलिक पहिचान सहितको समाजवादी विचारलाई मार्गदर्शक राजनीतिक नीतिका रुपमा अघि सार्नुृभयो त्यो कुरा साँच्चिकै अर्थमा गहन महत्व, दुरगामी परिणामको गुन्जायस दिने विचार थियो । विपि कोइरालाले नेपाल राज्यको पहिलो जननिर्वाचित प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व गर्दा उदार समाजवादी विकासको आर्थिक, सामाजिक नीतिलाई प्राथमिकता साथ लागू गर्नुभयो । समाजवादी आर्थिक नीतिलाई वकालत गर्ने अग्रणी सरकार प्रमुखका रुपमा विपि कोइरालाले आफुलाई स्थापित गर्नुभएको थियो । आफु प्रधानमन्त्रीका रुपमा मुलुकको कार्यकारी प्रमुख भई सकेपछि उहाँको अध्यक्षतामा बसेको योजना आयोगको बैठकमा नेपाल किसान र मजदुरको देश भएकोले जवसम्म हाम्रा किसान र मजदुरको उत्थान र विकास गर्न सकिंदैन तवसम्म यो मुलुकको विकास र राजनीतिक परिवर्तनले मुर्तता पाउन सक्दैन् भन्दै विकासका योजना बनाउँदा तिनै किसान र मजदुरलाई आत्मसात गरेर योजना बनाउन उहाँले निर्देश गर्नुृृभएको थियो । विपि कोइरालाले अघि सार्नु भएको वैचारिक मान्यता आज पर्यन्त पनि समय सान्दर्भिक छ ।
आजको समसामयिक परिवेशमा पनि नेपालको आर्थिक विकास, सामाजिक परिवर्तन तथा राजनीतिक स्थायित्वका लागि विपि कोइरालाले आजभन्दा पाँच दशक अघि प्रतिपादन गर्नुभएको लोकतान्त्रिक समाजवादी आर्थिक नीतिबाट अनुप्राणित भएकै छ र त्यो समाजवादी आर्थिक विकासको नीति आजको सन्दर्भमा पनि त्यत्तिकै सान्दर्भिक र महत्वको रहेको विश्लेषण गर्न सकिन्छ । नेपालको समृद्धी र विकासका लागि सबैभन्दा अचुक अस्त्र भनेकै गरिबी, असमानता तथा विकासका अवसरबाट बन्चित निम्नतम जीवनयापन गरी आएका नेपाली गाउँघर तथा पाखा पहराहरुमा जीवन संघर्ष गरी आएका जनताहरुको आर्थिक विकास तथा सामाजिक रुपान्तरण हो, जसमा लोकतान्त्रिक सरकारले ध्यान दिनु पर्दछ ।
लेख प्रस्तुतकर्ता ः– मनोहर कार्की ( मानवशास्त्री तथा अधिवक्ता )

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar